Wednesday, April 28, 2010

गुणस्तर प्रमाणित नभएका मोबाइल सेटको बजारमा बिगबिगी

काठमाडौ, वैशाख - दूरसञ्चार प्राधिकरणबाट 'टाइप एप्रुभल (गुणस्तर प्रमाणपत्र) नलिएका मोबाइल सेट स्थानीय बजारमा भित्रने गरेका छन् । दूरसञ्चार ऐनको व्यवस्था गरेअनुसार प्राधिकरणबाट मोबाइल सेट भित्र्याउनुअघि प्रमाणपत्र लिनुपर्ने व्यवस्था भए पनि अहिले बिनाएप्रुभल भित्रिएका सेटको स्थानीय बजारमा बिगबिगी छ ।
प्राधिकरणका सहायक निर्देशक कवीन्द्र श्रेष्ठका अनुसार हालसम्म १ सय २३ वटा मोबाइल सेटले मात्र टाइप एप्रुभल लिएका छन् । 'बजारमा आएका धेरै सेटले एप्रुभल लिएका छैनन्,' श्रेष्ठले भने । एप्रुभल लिनेमध्ये १ सय २१ वटा जिएसएम मोबाइल सेट छन् । त्यस्तै ३ वटा मात्र सिडिएमए सिम लाग्ने सेट छन् । 'टाइप एप्रुभल' भनेको मोबाइल सेटको विभिन्न प्राविधिक पक्ष अध्ययन गरी गुणस्तरीय हो भन्ने प्रमाणित गरेर प्राधिरकणले दिने पत्र हो । यसका लागि मोबाइल उत्पादक कम्पनीले आफ्नो सेटको सर्किट, पावरलगायत सम्पूर्ण प्राविधिक पक्षको जानकारी भएको कागजात पेस गर्नुपर्छ ।
यसरी धेरै सेटहरू बिनाएप्रुभल भित्रदँा गुणस्तरहीन सेटबाट उपभोक्ता मारमा पर्ने भन्दै प्राधिकरणले मोबाइल आयातमा नियन्त्रण गरेर यसलाई बाध्यकारी बनाउने तयारीसमेत गर्ने भएको छ । 'सेट आयात गर्दा भन्सारमा टाइप एप्रुभल लिनुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउन कोसिस गरिरहेका छौं,' उनले भने, 'सञ्चार मन्त्रालयमार्फत पहल गरिनेछ ।'
स्थानीय बजारमा प्रमुख हिस्सा भएका र विश्व प्रसिद्ध कम्पनीले समेत बिना टाइप एप्रुभल मोबाइल सेट भित्र्याउने गरेका छन् । टाइप एप्रुभल गर्नुपर्ने बाध्यकारी व्यवस्था नभएकाले पनि सबै कम्पनीले नगरेको प्राधिकरणका एक अधिकारीले बताए । श्रेष्ठका अनुसार नोकियाले हालसम्म ७३ वटा सेटको टाइप एप्रुभल लिएको छ । त्यसपछि सबैभन्दा बढी सेट प्रमाणित गर्ने कम्पनीमा एलजी रहेको छ । एलजीले ३२ वटा सेटको एप्रुभल लिएको छ ।
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी स्पाइस नेपालले 'एन सेल' उपभोक्ताका लागि ल्याउन लागेको ब्ल्याकबेरीले हालै टाइप एप्रुभल लिएको छ । स्पाइस नेपालमा ब्ल्याकबेरी भित्र्याउने तयारी गरिरहेको छ । त्यस्तै एचपी कम्पनीले एक वटा मोबाइल नेपाल भित्र्याउनका लागि एप्रुभल लिएको छ । चिनियाँ कम्पनी कोन्काले यसअघि ७ वटा मोबाइल सेट प्राधिकरणबाट एप्रुभ गराएको छ । अर्को चिनियाँ कम्पनी सेन्जेन भिकलले पनि सात वटा मोबाइल सेट एप्रुभ गराएको छ ।
अर्कोतिर जिपिआरएसभन्दा पछिल्लो प्रविधि सिडिएमए सुरु भएपछि नेपालमा लगातार धेरै संख्यामा सिडिएमए सेट भित्रिए पनि हालसम्म २ वटा मात्र सिडिएमए सेटले टाइप एप्रुभल लिएका छन् । श्रेष्ठका अनुसार चौधरी ग्रुपको सिजी मोबाइल र कोन्काको एक गरी दुई सेटले टाइप एप्रुभल लिएका हुन् ।
एप्रुभल लिनका लागि मोबाइल उत्पादन कम्पनी वा नेपाली बजारका लागि आधिकारिक बिक्रेताले सक्नेछन् । उनीरूरुले एप्रुभल लिन खोजेको सेटको सम्पूर्ण विवरण प्राधिकरणलाई बुझाउनुपर्छ । विवरणबाट गुणस्तरीय देखिएपछि मात्र एप्रुभल दिइन्छ । सुरक्षाका लागि यो व्यवस्था लागू गर्नु अत्यावश्यक भएको प्राधिकरणले जनाएको छ । 'नेपालमा बिक्री भइरहेका कतिपय कमसल सेटमा आइएमआई नम्बर छैनन्,' श्रेष्ठले भने, 'यस्ता सेटको प्रयोग गरी धम्की दिने, चन्दा असुल्ने जस्ता आपराधिक क्रियाकलाप हुने गरेको छ ।' आइएमआई नम्बर भएका सेटबाट फोन गर्ने व्यक्ति पहिचान गर्न सजिलो हुन्छ । अर्कोतर्फ मोबाइल सेवा प्रदायक कम्पनीले यस्ता गुणस्तरहीन मोबत्राइलका कारण कम्पनीले गुणस्तर राम्रो नभएको गुनासोसमेत गर्दै आएका छन् । सेटले मोबाइल नेटवर्क र गुणस्तरमा प्रभाव पार्ने उनीहरू बताउँछन् । यसरी बिना एप्रुभल सेट बजारमा आए पनि अहिलेसम्म बजार हस्तक्षेप भने गरिएको छैन । तर गुणस्तरीय मोबाइलका लागि प्राधिकरणले केही गर्ने योजना बनाएको उनको भनाइ छ ।

No comments:

Post a Comment